Slide

म बाइबल कलेज पढ्न चाहन्छु


event

मेरो नाम पवित्रा दुलाल हो । म हनुमानढोकामा बस्छु । मेरो जन्म २०४३ साल, वैशाख १० गते झापाको गेराबारीमा भएको थियो । म ६ महिनाको हुँदा मेरो बुवाले म र मेरो परिवारलाई छोडेर जानुभयो । त्यसपछी मेरो आमाले अरुको घरमा काम गरेर हाम्रो परिवारको हातमुख जोर्ने काम गर्नुभयो । यसरी विस्तारै दिनहरु बित्दैथिए । एक दिन म तीन वर्षको हुँदा, म र मेरो दिदी मामाघरमा गएको बेलामा मेरी आमा हामीलाई थाहै नदिइकन सुटुक्क काठमाडौं जानुभएछ । र, त्यस दिन पछी मेरो जिवनले अर्कै मोड लियो । मैले त्यो दिन पछी आमाको माया कस्तो हुन्छ भनेर अनुभव गर्न पाएको छैन । साथीहरुको आमा-बुवा देख्दा मेरो पनि आमा-बुवा भइदिएको भए हुन्थ्यो जस्तो लाग्थ्यो । तर के गर्नु, आमालाई सम्झेर आँखामा आँशु टल्काउनु बाहेक मेरो विकल्प थिएन ।
केहि समय मामाको घरमा बसेपछी उहाँहरुलाई पनि दु:ख भएछ्, अनि मलाई मामाले एउटा आमा-बुवा नभएका बच्चा बस्ने घरमा लगेर राखिदिनु भयो । त्यँहा मैले जेनतेन गरेर ४ कक्षासम्म अध्ययन गर्ने अवसर पाएँ । त्यसपछी जब म १० वर्षकी भएँ, उहाँहरुले मलाई दार्जिलिङको कालिम्पोङमा काम गर्नको लागी पठाइदिनुभयो । मलाई त्यँहा अति नै गार्‍हो भयो । मैले त्यँहा जुठा भाँडा माँझ्ने काम गरेँ । आफ्नो नातेदारसँग छुटिनुको पिँडा त थियो नै, त्यसमाथी शारीरीक यातना पनि मैले सह्नुपर्‍यो । एक वर्ष जती काम गरेपछी म नेपाल आउने अवसर पाएँ । त्यती बेला मेरो हातमा भारतिय रुपैया ५० थमाइएको थियो । म नेपालमा मामाको घरमा गएँ अनि त्यँही बसेँ।
म १६ वर्षकी हुँदा मेरी आमा काठमाडौंबाट एकदिन मामाको घर झापामा आउनुभयो । उहाँ फर्कने बेलामा मलाई पनि सँगै लग्नुस भनेर रोइकराइ आमालाई अनुरोध गरेँ, तर उहाँले मलाई वास्ता गर्नुभएन । पछि, दसैंको बेलामा मेरो आमा मामाको घरमा आउनुभयो, यो समय उहाँ पहिलेको जस्तै आफुमात्र आउनुभएन, तर आफुसँग अर्को श्रीमान पनि ल्याउनुभयो । त्यो भन्दा अगाडी मैले गाँउमा मेरो आमाले अर्को विवाह गर्नुभयो भनेर सुनेको थिएँ, तर मैले त्यो कुरालाई झुठो होला भनेर वास्ता गरिन । त्यसपश्चात्, म आमा सँग बस्न लागेँ । मैले मेरो परिवारको आर्थिक अवस्था कमजोर भएको कारण पढ्न पनि पाइन । कहिलेकाहिँ त मेरो जीवनमा हाँसो र खुशी भन्ने कुरा नै छैन कि जस्तो पनि मलाई लाग्ने गर्थ्यो ।
म २०६४ सालमा काठमाडौं आएँकी थिएँ । काठमाडौंमा नै मैले परमेशवरको वचनबाट सुन्ने मौका पाएँ । एउटा शनिवार म क्वाइनोनिया पाटन चर्च गएँ । त्यँहा आदरणिय पाष्टर मंगलमान महर्जनद्वारा प्रचार गरिएको वचन सुन्ने अवसर पाएँ । त्यो वचनले मेरो जीवनमा ठुलो प्रभाव पार्‍यो । मैले कहिल्यै अनुभव गर्न नपाएको आनन्द र शान्ती पहिलो पटक अनुभव गर्ने मौका पाएँ अनि मैले येशू ख्रीष्टलाई मेरो व्यक्तिगत प्रभु र मुक्तिदाता भनेर मेरो जीवनमा स्विकार गरें । त्यस पछी येशू ख्रीष्ट नै मेरो कमजोरीमा शक्ति, दु:खमा आनन्द, निराशामा आशा अनि मलाई सधैँ प्रेम गर्ने मेरो परमेश्वर हुनहुन्छ ।
त्यस पछी मलाई परमेश्वरको वचनबाट धेरै भन्दा धेरै कुरा सिक्न मन लाग्यो । मलाई बाइबल कलेज पढेर मलाई आशा र उत्साह दिने प्रभुको बारेमा सिक्ने तृष्णा बढ्यो, तर परिवारको आर्थिक स्थिती कमजोर भएको कारण मेरो इच्छा पुरा हुन सकेन । मेरी आमाले फुटपाथमा सानो पसल गर्नुहुन्छ भने म पनि काम गर्ने गर्छु । म चाहन्छु कि मेरो जीवनबाट साँचो शान्ति र आनन्द नपाएका मानिसहरुले परमप्रभुको प्रेम र साँचो शान्तीको अनुभव गर्न पाउन् ।
म सुसमाचार नसुनेका व्यक्तिहरु र विभिन्न ठाउँमा छरिएर रहेका मण्डलीहरुको माझमा सेवा गर्न चाहन्छु । यसकारण अहिलेको मेरो आवश्यकता भनेको परमेश्वरको वचनबाट धेरैभन्दा धेरै सिक्नु र अरुहरुलाई पनि मैले सिकेको कुराहरु सिकाउनु हो । त्यसैले म बाइबल कलेज पढेर मलाई नयाँ जीवन र शान्ति दिने परमेश्वरको बारेमा धेरै भन्दा धेरै बुझ्न चाहन्छु । यसको लागी मलाई तपाइहरुको प्रार्थना, उत्साह साथै आर्थिक साहएताको खाँचो छ । म विश्वास गर्छु, मलाई प्रेम गर्ने मेरो परमेश्वरले नै मेरो सपना पुरा गर्नुहुनेछ । परमेश्वरलाई धन्यवाद, जसले मलाई शक्ति, आशा, अनि सबै थोक दिनुहुन्छ ।