+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

गुड न्यूज एफएम पोखरा रिलेस्टेशन आरम्भ

event

तुरही न्यूज । कास्की ।९ फागुन ०७८ । लामो समयको प्रार्थनाको प्रतिफलस्वरुप गुड न्यूज एफएम प्रा.लि.ले आफ्नो प्रसारणलाई थप बिस्तृत गर्ने क्रममा सोमबारबाट गुड न्यूज पोखरा एफएम १०५.६मेगाहर्जमा आफ्नो रिलेस्टेशन आरम्भ गरेको छ । कास्कीको नदिपुरस्थित गुड न्यूज पोखरा एफएम १०५.६ को स्टेशनमा गुड न्यूज एफएम प्रा.लि.संचालक समितिका अध्यक्ष कैलाशमान साशंकर र संचालक समितिका पूर्व अध्यक्ष पास्टर टेकबहादुर दाहालले संयुक्तरुपमा रिबन काटेर गुड न्यूज पोखरा एफ एम १०५.६ प्रसारण प्रारम्भ गर्नु भयो । त्यसैगरि रेभ पास्टर डा.शमूएल सग्राम राईले समर्पणको प्रार्थना गर्नु भई सोमबार अपराह्न १२ बजेबाट गुड न्यूज एफएम पोखरा रिलेस्टेशन आरम्भ भएको छ ।

गुड न्यूज एफएम पोखरा रिलेस्टेशनको समर्पण तथा समुद्घाटन समारोहमा गुड न्यूज एफ एम प्रा.लि.संचालक समितिका अध्यक्ष तथा अधिवक्ता कैलाशमान शासंकरले लामो समयको प्रार्थनास्वरुप गुड न्यूज एफएम पोखरा रिलेस्टेशन प्रारम्भ भएकोमा परमेश्वरलाई धन्यवाद भन्दै यो रेडियो प्रसारण सुसमाचार प्रचार तथा प्रसारमा प्रतिवद्ध भएको बताउनु भयो । 


त्यसैगरि कार्यक्रममा गुड न्यूज एफ एम प्रा.लि.संचालक समितिका संस्थापक अध्यक्ष तथा संचालक समिति सदस्य पास्टर टेकबहादुर दाहालले आजको डिजिटल संसारमा सुसमाचार प्रचार प्रसार र परमेश्वरको राज्य फैलाउनको लागि रेडियो एक शक्तिशाली माध्ययम भएको बताउनु भयो ।

सोमबार नदिपुरको एक क्याफेमा आयोजित समर्पण तथा समुद्घाटन कार्यक्रममा पोखरास्थित कनान बप्तिस मण्डलीका पास्टर शमूएल सग्राम राई, पोखरेली ख्रीष्टिय समुदायका अध्यक्ष पास्टर हरी घिमिरे, पोखरा ख्रीष्टियान समाजका अध्यक्ष नेपाल ख्रीष्टियान समाज गण्डकी प्रदेश अध्यक्ष पास्टर केपी त्रिपाठी र पास्टर केशव आचार्यलगायतकाहरुले गुड न्यूज एफएम पोखरामा प्रसारण आरम्भ भएकोमा वधाई दिदैं पोखरामा गुड न्यूज एफ एम रेडियोको आवश्यकता भएको औंल्याउनु भयो ।

कार्यक्रममा गुड न्यूज एफएम प्रा.लि. संचालक समितिका सदस्य तथा प्रवन्ध निर्देशक पास्टर विश्वदेव खड्काले गुड न्यूज एफ एम पोखरा प्रसारणले पोखराका स्थानिय चर्चमा ठूलो सहयोग पुग्ने अपेक्षा गर्नु भयो ।


स्मरण रहोस् सन् २००६ मा गुड न्यूज एफ एम रेडियो स्थापना भएको हो । यसको स्टेशन काठमाडौंको अनामनगरमा रहेको छ भने हरेक विहान ६ बजेदेखि राती १० बजेसम्म आफ्ना कार्यक्रमहरु प्रसारण गर्दै आएको छ । सोमबारबाट पोखरामा यसको रिलेस्टेशन १०५.६ मेगाहर्ज प्रारम्भ भएको छ ।