+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

खीष्टमस 'चाड–पर्व' होइन, यो 'उत्सव' हो

event
ख्रीष्टमसको शाब्दिक अर्थलाई केलाउने हो भने अंग्रेजी शब्द ‘मास अफ क्राइष्ट’ बाट क्रिसमस शब्द आएको देखिन्छ । जसको अर्थ हुन्छ येशूको पछि लागेको मास वा समूह वा भिड र क्राइष्ट भनेको ‘येश’ू ‘मस’ भनेको सेवा भन्ने वुझिन्छ । सरल भाषामा भन्नु पर्दा ख्रीष्टमस भनेको येशूको सेवा गर्ने जमात भन्ने वुझिन्छ । ख्रीष्टमसको केन्द्र नै येशू हुनुहुन्छ । अक्सफोर्ड अंगे्रजी शब्दकोशका अनुसार क्रिसमसचाहिँ येशू प्रभुको जन्म दिनको उत्सव हो ।
 
ख्रीष्टमसको विश्वव्यापी अर्थ र प्रभावले गर्दा क्रिसमस उत्सव मनाउँनको लागि यो उत्सवमा नेपाल सरकारले सार्वजनिक विदा कायम गर भनेर ख्र्रीष्टयान अगुवाहरु मन्त्रालय धाउनु लोकतान्त्रिक मुलुकका सरकारको लागि लज्जास्पद कुरा हो । संविधानतः मुलुक धर्म निरपेक्ष भइ सकेको अवस्थामा विश्वभर मनाइदै आएको क्रिसमसमा राज्यले एक दिन सार्वजनिक विदा कायम गर्न सरकार आफै तयार रहनु पर्छ  । यसर्थ सरकारले क्रिसमसका दिन स्वस्फुर्तरुपमा सार्वजनिक विदा कायम गराएर नेपालका तीस लाख इसाईहरुको आत्म सम्मान गर्नु पर्छ । किनकि पछिल्लो समय नेपालका तीस लाख ख्रीष्टियानहरुले मात्र ख्रीष्टमसलाई मनाउँदैनन् यो त नेपालका सबै धर्मावलम्वीहरुले मनाउँने उत्सव भइ सक्यो । 
 
सारा संसारका मुक्तिदाता येशू मसिहाको जन्म दिन डिसेम्बर २५ मा संसारभरका अरबौ मानिसहरुले मनाइ रहँदा नेपालमा वा विश्वभरका नेपालीभाषी चर्चमा वा चर्चका सदस्यहरुले ख्रीष्टमसलाई चाड–पर्व भन्ने की उत्सव भन्ने शब्दमा निश्चित हुनु आवश्यक छ । 
 
शुरुदेखि हाल सम्म पनि नेपालीभाषी चर्चहरुमा क्रिसमसलाई ‘उत्सव’ भन्ने की वा ‘चाड–पर्व’ भन्ने कुरामा दुविधा हुदँै आएको देखिन्छ । क्रिसमसलाई उत्सव भन्ने की चाड–पर्व भन्ने बारेमा अहिले सम्म न नेपाली ख्रीष्टियान मिडियामा यो वहसको विषय बन्यो, न त यो नेपाली चर्चहरुको निम्ति चासोको विषय नै । तर वास्तवमा हामीले बोल्ने शब्दले के अर्थ राख्छ भन्ने कुरामा पनि चर्चले ख्याल राख्नु आवश्यक छ । चर्चको पुलपिटमा बोल्नको लगि त झन पूर्ण तयारी हुनु पर्छ । चर्चको गोठालोले प्रचार गर्दा आफूले बोल्ने शब्दको अर्थ के हो भनेर मनन गर्नु र त्यसमाथि अध्ययन गर्नु आवश्यक छ । किनकि हामीले बोल्ने शब्दमा शक्ति हुन्छ । शब्दले संचारको काम गर्छ । 
 
संसारका मुक्तिदाता येशू प्रभु जन्मनु भएको अवसरमा संसारभरका अरबौ मानिसहरुले मनाउँने यो क्रिसमस वास्तवमा उत्सव हो या अन्य धर्मावलम्वीहरुले मान्ने कुनै चाड–पर्व मात्रै हो भन्ने कुरा वुझ्नु आवश्यक छ । क्रिसमसलाई उत्सव भन्ने या चाड–पर्व भन्ने सवालमा नेपालीभाषी चर्चका पास्टरअगुवाहरुले वा चर्चका सदस्यहरुले ख्याल गरेको पाईदैन । अरुले जे भन्यो त्यही फलो गर्ने संस्कार छ । जुन सस्कारलाई ब्रेक गर्नु पर्छ र अध्ययनशिल हुने बानीको विकास गर्नु पर्छ ।
 
स्वर्ग र पृथ्वी सृजना गर्नु हुने र मानवलाई आफ्नै स्वरुपमा सृष्टि गर्नु हुने परमेश्वरको पुत्र येशू प्रभुको जन्म दिनलाई हामीले अन्य कुनै धर्मको चाड–पर्वको जस्तो रुपमा लिनु हुँदैन । क्रिसमसलाई यो संसारमा भएका कुनै धर्मको चाड–पर्वमा राखेर तुलना गर्न पनि मिल्दैन । ख्रीष्टमस अन्य कुनै धर्मावलम्वीहरुको चाड–पर्व होइन भन्ने पहिलो आधार वा प्रमाणचाहिँ परमेश्वरले आफ्ना एकमात्र पुत्र येशूलाई यो संसारमा कुनै धर्म स्थापना गर्न पठाउँनु भएको होइन भन्नेले पनि प्रमाणित गर्छ की यो ‘चाड–पर्व’ होइन यो त ‘उत्सव’ हो भन्ने ।
 
अझै हेरौः ख्रीष्टमस चाड–पर्व होइन भन्ने आधारचाहिँ उहाँको वैभव र माहानतालाई यस संसारका सीमित मानिसहरुको मस्तिष्कले बनाएका चाड–पर्वमा राखेर मापन कदापी गर्न सकिन्न । येशूको महानतालाई कुनै चाड–पर्वसँग तुलना गर्न मिल्ने दुषप्रयास समेत गर्नु हुदैंन । 
 
नेपाल थ्योलोजीकल कलेजका प्रिन्सिपल डा.बालकृष्ण शर्माले पनि येशूको जन्मोत्सव क्रिसमसचाहिँ ‘चाड–पर्व’ नभई यो ‘उत्सव’ हो भनेर टिप्पणी गर्नु भएको छ । उहाँले भन्नुभयो,–‘क्रिसमसलाई उत्सव भन्नु पर्छ, चाडपर्व भन्नु हुँदंैन ’। त्यसैगरि नेपाली भाषा लेखन तथा व्याकरणमा राम्रो दखल भएका एनसीएफ नेपालका महासचिव शेर एसीले पनि ख्रीष्ट जन्मोत्सवलाई चाड–पर्व नभनि उत्सव भन्नु पर्छ भन्नु भएको छ । उहाँले सम्पूर्ण नेपालीभाषी चर्चहरुले क्रिसमसलाई उत्सव भन्ने बानी वसाल्नु पर्छ भनि सुझाउनु भएको छ । 
 
पवित्र आत्माको शक्तिद्धारा सारा संसारका मानवका एक मात्र मुक्तिदाता भइ कन्या मरियमको कोखबाट जन्म लिनु भएका येशू मसिहाको जन्मलाई यस लोकका मानिसहरुले मान्ने या पुज्ने कुनै एक विशेष् सीमित धर्मको रिति–तीथीको परिधीमा  राखेर हेर्न क्रिसमसलाई चाड–पर्वको संस्कार बसाउनु हुँदैन । क्रिसमस भनेको कुनै धर्मको प्रतिस्थापन गर्न आएको कुनै अर्को धर्मको चाड–पर्व कदापी होइन । क्रिसमस त येशू प्रभुसँग सम्वन्धित छ । यो त उत्सव हो । २५ डिसेम्बरमा नै मनाउनु पर्छ भन्ने छैन् । कुनै धर्मको चाड–पर्व मनाउँनको लागि मिति, साइत रितीथीति हेराउनु आवश्यक हुन्छ भने क्रिसमसमा त्यसो पर्दैन । 
यी विविध कारणले ख्रीष्टमस ‘चाड–पर्व’ नभई ‘उत्सव’ हो । यो संसारभरि मनाइन्छ किनकि येशू सारा संसारको एक मात्र मुक्तिदाता भएर जन्मनु भएको उत्सव हो । त्यसैले आजबाट क्रिसमसलाई ‘उत्सव’ भन्नुहोस् ‘चाड–पर्व’ होइन ।