+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

इन्टरनेशनल नेपाली ख्रीष्टियन मिडिया गठन

event
ललितपुर । २२ चैत । नेपाल, भारत र अमेरिकालगायतका ख्रीष्टियन मिडियाकर्मीहरुको पछिल्लो भेलाले एक अन्तराष्ट्रिय मिडिया समिति चयन गरेको छ । हिजो वुधबार नक्खुस्थित एक रेष्टुरेण्टमा दिनभर वसेको ख्रीष्टियन मिडियाकर्मीहरुको छलफलले अमेरिकास्थित अब्राहाम दियालीको अध्यक्षतामा तेह् सदस्यीय तदर्थ समिति चयन गरेको छ । जुन संजालको नाम इनटरनेशनल नेपाली ख्रीष्टियन मिडिया नेटवर्क रहेको छ ।
 
जसको सह–अध्यक्षमा रमेश लामा (भारत) र कुमारसिंह विष्ट रहनु भएको छ भने त्यसैगरि उपाध्यक्षमा रामहरी थापा (विश्वास) सर्वसम्मतले चयन हुनु भएको छ । महासचविमा दिनेश श्रेष्ठ र सचिवमा प्रकाश वि.सि., कोषाध्यक्षमा रेनु वाइबा र सह–कोषाध्यक्षको लागि कार्य समितिको पछिल्लो वैंठकले भारतबाट चयन गर्नेछ । 
 
त्यसै गरि सदस्यमा हरि जिज्ञासु, सुमित नेपाली अन्य एक जना सदस्य अमेरिकाबाट र एक जना सदस्य भारतबाट चयन गर्ने भन्ने निर्णय भएको छ ।
उक्त भेलाले नेपालको लागि राष्ट्रिय संयोजकमा विकासदत्त दुलाललाई चयन गरेको छ । कार्य समितिको अर्को वैंठकले नेपाल, भारत, क्यानडा, लण्डनलगायत अन्य देशबाट पनि अन्य ख्रीष्टियन मिडियाकर्मिहरुलाई यो संजालमा समेटी अन्य जिम्मेवारी सुम्पिने निर्णय गरेको छ । 
 
हिजो नै तदर्थ समितिको पछिल्लो वैठक वसि सन् २०१९ मा काठमाडौंमा आयोजना हुन लागेको अन्तराष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया समिट आयोजना गर्नको निम्ति एक आयोजक समिति चयन गर्ने र उक्त समिति चयनका लागि तदर्थ समितिलाई जिम्मेवारी दिने निर्णय भएको छ । तदर्थ समितिले नै निकट भविष्यमा नै आयोजक समिति चयन गर्ने छ । 
उक्त इनटरनेशनल नेपाली ख्रीष्टियन मिडिया समिट आगामी वर्ष सन् २०१९ मार्च १५ र १६ तारिख दुई दिनका लागि काठमाडौंमा आयोजना गर्ने निर्णय भएको छ । 
 
हाल चयन भएको तदर्थ समिति आगामी मिडिया समिटसम्म मात्र सक्रिय रहने छ, सन् २०१९ मा आयोजना हुन लागको पहिलो मिडिया समिटबाट सवै मिडियाकर्मीहरुलाई समेट्ने प्रकारले नै अर्को कार्यकारी समितिको चयन गरि इनटरनेशनल नेपाली ख्रीष्टियन मिडिया संजाललाई पूर्णता दिइने हिजोको वैठकले सर्वसम्मतले निर्णय गरेको छ ।
मिडिया छलफलमा वि.पि.खनालले यो अन्तराष्ट्रिय मिडिया नेटवर्कको सफलताको कामना गर्नु भयो । उहाँले यो मिडिया फोरमलाई भविष्यमा चाहिएको वेला आफ्नो साथ, सहयोग र समर्थन रहने प्रतिवद्धता गर्नुभयो ।
मिडिया छलफलको पहिलो सेसनमा रेभरेण्ड विजय कर्माचार्यले वचनको सेवा गर्नु भएको थियो । त्यसक्रममा उहाँले परमेश्वरले हामीलाई औजारकोरुपमा मिडिया दिनुभएको हुनाले यसलाई सहीरुपमा प्रयोग गरेर प्रभुको महिमा गर्नमा सवै मिडियाकर्मिहरुलाई प्रेरित गर्नुभयो । 
 
देशभरमा भएका ख्रीष्टियन मिडियाकर्मीहरुको पहिलो भेला मार्च १३ तारिख काठमाडौंमा भएर उक्त भेलाले नेपाली मिडियालाई समेट्ने खालको एक अन्तराष्ट्रिय ख्रीष्टियन मिडिया संजालको स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि दोस्रो भेला मार्च २६ तारिख भारतमा भएको थियो भने तेस्रो हिजो अप्रिल चार तारिख भएको भेलाले इन्टरनेशनल नेपाली ख्रीष्टियन मिडिया नेटवर्कको स्थापना गरेको हो ।