+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

होशन्ना चर्चमा लोकप्रिय गायक सन्तोष तिरुवाले भने, ‘पहिला म आराधक हुँ अनी मात्र गायक हुँ’

event
कुमारसिंह विष्ट । १८ वैशाख ०७४ । काठमाडौं । संसारभर नेपालीभाषी मण्डलीहरुका लोकप्रिय गायक सन्तोष तिरुवाले ‘पहिला आफू परमेश्वरको आराधक हुँ अनी मात्र म गायक हुँ’ भनेका छन् । आज सोमबार काठमाडौंको जोरपार्टीस्थित होशन्ना चर्चका यूवाहरुले गायक तिरुवाको लागि आयोजना गरेको सांगितीक स्वागत कार्यक्रममा तिरुवाले उक्त बताएका हुन् ।
अन्तराष्ट्रिय मजदुर विवसका दिन आज होशन्ना चर्च जोरपाटीमा सोही मण्डलीका सयौं यूवायुवतीहरु एक फरक सांगितीक कार्यक्रममा एकसाथ संगै भेला भए । उनीहरु लोकप्रिय गायक सन्तोष तिरुवाका गीतहरु सुन्न भेला भएका थिए । मण्डली भवन अघि भित्तामा झुण्डयाइएको फेलेक्सको ब्यानरमा ‘होशन्ना यूवा समूह निकै लोकप्रिय गायक सन्तोष तिरुवालाई सांगितीक कार्यक्रममा स्वागत गर्छौ’ भनेर लेखिएको थियो । 
होशन्ना चर्चमा गायक तिरुवाको स्वागतार्थ आयोजना भएको सांगितीक कार्यक्रमको मंचको अग्रपंक्तिमा झुण्डाइएको आफ्नो तस्बिरसहितको फेलेक्स ब्यानरतिर हेरेर गायक तिरुवाले आयोजकले ब्यानरमा आफ्नो तस्बिर राखेर लिजेन्ड्री सिंगर भनेर आफूलाई जुन आदर र सम्मान दिएको छ, म यसका लागि चर्च तथा चर्चका यूवाहरुलाई धन्यवाद दिन्छु भने । त्यसक्रममा गायक तिरुवाले तर ‘म आफूलाई गायक भन्दा पनि परमेश्वरको आराधक भनेर भन्न रुचाउँछु’ भनेर उपस्थित सयौं यूवायूवतीहरुलाई असल संदेश दिएका थिए ।
गायक तिरुवाले होशन्ना चर्च परिवारले आफूप्रति गरेको सम्मान र सरप्राइजको खुलेर प्रशंसा गरे । कार्यक्रममा गायक तिरुवाले आफ्ना करिव आधा दर्जनजति गीत सुनाएर दर्शकहरुलाई मन्त्रमुग्ध साथै आशिष्ति बनाए । उनले कार्यक्रममा मेरो जिन्दगीमा येशू आइ दियौ..., सन्तोष रामदामको शब्द तथा संगित र तिरुवाको स्वर रहेको संसारभर निकै लोकप्रिय गीत...सम्हालिएको जाती हामी यो...त्यसैगरि उनको पहिलो सोलो एल्वम (पहिलो प्रेम)को शिर्ष गीत पहिलो प्रेम...जस्ता आधा दर्जन गीत गाएका थिए ।
कार्यक्रममा आफ्ना गीत पस्कनेक्रममा गायक तिरुवाले होशन्ना चर्चले आफूप्रति गरेको परमेश्वरिय प्रेमले मलाई सोह् वर्षपछि आफ्नो घर नेपाल आएको अनुभुती भयो भने । गायक तिरुवाले त्यसक्रममा आफू नेपालमा हुँदा वाल्यकालदेखि प्रवेशिका उत्तिर्णसम्म पास्टर राजु सुन्दासको घरमा परिवारकै सदस्यजस्तै वसेर स्कूल अध्ययन गरेको सम्झना गरे । उनले भने मेरो संगितको माहोल नै होशन्ना मंडलीबाट शुरुवात भएको थियो । उनले होशन्ना मण्डलीमा हुँदा नै राष्ट्रव्यापी बाल गीत प्रतियोगितामा प्रथम भएको स्मरण गर्दै होशन्ना चर्चका पास्टर राजु सुन्दास र सुन्दास परिवारलाई धन्यवाद दिए । 
गायक तिरुवाले आफ्नो संगितको प्रेरणाको श्रोत पहिलो परमेश्वर दोस्रोमा आफ्नो वुवा कर्ण तिरुवा र तेस्रोमा होशन्ना मण्डली तथा पास्टर राजु सुन्दास भएको दावी गरे । कार्यक्रमको अर्को आकर्षण थियो गायक तिरुवासँग मण्डलीकी यूवतीले गरेको अन्तार्वार्ता । उक्त अन्तर्वार्तामा गायक तिरुवाको सांगितीक यात्रा र जीवन गवाहीका वारेमा यूवतीले प्रश्न गरेकी छिन् । उक्त अन्तरवार्तामा गायक तिरुवाले आफ्नो सांगितीक यात्रा र सेवकाइका वारेमा सवैलाई प्रष्ट पारेका थिए ।
अन्तरवार्ताकाक्रममा उनले आफू जीवनभरि नै परमेश्वरका भजन गीत गाउनमा मात्रै आफ्नो स्वरलाई प्रयोग गरेर स्वास रहुन्जेल प्रभुको मात्र भजन गीत मात्र गाइ रहने प्रतिवद्धता जनाए । वाल्य अवस्थामा संगितमा पाइला टेकेका गायक तिरुवाले हालसम्म दुई सय भन्दा वढि भजन गीतमा आफ्नो कर्णप्रिय आवाज भरि सकेका छन् । उनले अमेरिका र अन्य देशमा भएका नेपालीभाषी मण्डलीले निकालेका सयौं सामूहिक एल्वममा आफ्नो एकल स्वर दिएका छन् तर गत वर्ष मात्र आफ्नो एकल एल्वम ‘पहिलो प्रेम’ निकालेका छन् । कार्यक्रममा सोही मण्डलीका गायक सन्तोष गुइदे र रन्जु भुषालले पनि गीत गाएका थिए ।